लाँकुरी रुट्स

गजल - ५० - साथी

Wednesday, July 16, 2025

को उभिन्छ यसरी दुश्मनको अगाडी आएर
उ मेरो साथी हो भन्दै आँखामा आँखा जुधाएर

आमैले सोध्दा बाबैले सोध्दा को हो यो भनेर
मलाइ एक्लै पार्यौ लाटी भाग्यौ तिमी लजाएर

भ्रष्टहरुको अनुहार पनि नहेर्ने आश्वासन दिएर
नेताजी भित्र पस्नुभो जब साथी निस्क्यो अघाएर
 
हरपल नजरमा रहन्छन जो जान्छन् मुस्कुराउँदै
सपना कैद गर्ने परेली कसैको औंलामा थमाएर

जापानमा उदायो उता अस्तायो भन्दै पला हेरेर
बस्छन् एकजोडी समीछायाँमा हरसाँझ टोलाएर
 

गजल - ४९ - ऋतु

Monday, June 23, 2025


मुना कहिले पलाउला कहिले घाम अस्ताउला
यो पत्थर कहिले देउता होला कहिले रसाउला

पहिला हजुर स्याउ कि सुन्तला त्यो भन्नुस
अनि मलाई स्याउ कति मन पर्छ म बताउँला

बजारमा फेरि ठुलै माछो फसेको चर्चा छ
माछैले थापेर बल्छि माछा कसरी फसाउला

अरे यार सिधै नलेख्नुस्, विम्ब राखेर लेख्नुस्
फर्सिका जरा फैलाउने कला हामी सिकाउँला

उपर देउता दानव मिलेर बसेका छन तल यो रोइलो
भक्तजन-चेत-उच्छादयति घन्टी कसले बजाउला

पापा त्यो आउँछ र? हो छोरी त्यो आउँछ
मेरोमा नआएपनि तिम्रो चौरासीमा त आउला

(विक्रम संवत २०८२, आषाढ १०)


गजल - ४८ - तिम्रो भन के छ

Thursday, August 20, 2020

 मेरो ठिकै छ तिम्रो भन के छ 
खबर नभएको पनि जुनि भएछ 

बतासले पातलाई सुस्तरी रोक्यो
उहि गीत आज कसले गाएछ 

कोहि चढ्न खोज्यो पहाड फेरि
खोलाले आज सिंदुर लाएछ

समय र बस् माध्यम फेरिएछ
दृष्टि र सोच अझै पुरानै रहेछ 

थोरै घाम देखोस् बालुवा उस्तै
त्यत्रो नदीले खै के भिजाएछ 

ईन्द्रेणीमा स्वर्गका सायरी पठाउनु
बल्ल तिमीलाई 'राहत' मिलेछ


गजल - ४७ - उ नआओस्

Thursday, December 20, 2018

भो बरु जिन्दगीमा सफलता नआओस्
उ आओस् तर उ सँग मौनता नआओस्।

उ नौनी झैँ हृदय लिई आउँछे समीपमा,
म दियो झैँ सम्झन्छु उ यता नआओस्।

यो सिमाना यो दुरी पनि रहेछ जरुरी
त्यो आगो पानी झैँ हाम्रो एकता नआओस्।

यहाँ तपाईँ र म बाहेक बाँकि खत्तम छन्,
यसै ठिकै छ यहाँ अर्को देवता नआओस्।

मेरा पाईलाको ओज पछ्याउँदै मेरो सामु,
मेरो दुश्मन आओस् तिम्रो मित्रता नआओस्।

गजल - ४६ - सलाम छ

Friday, December 22, 2017


हर नजरमा बेग्लै आयाम छ
ए जिन्दगी तँलाइ सलाम छ

पैसा' पछि व्यर्थ कुदियो
हिँड्न थालेदेखि आराम छ

दान दक्षिणा लुकेर गर्नु
चोरीचकारी खुलेआम छ

भिड त बडा गजबको हो
बस् नाइके पो बदनाम छ

भोट खासै नसोचि हालियो
सोचमग्न अब परिणाम छ

भेट्न अवश्य बोलाउनु
निम्तो मै नभन्नु काम छ

हिजै आउँथें हिलो थियो
आज फेरि चर्को घाम छ

विचार रुपि हतियार निस्कन्छन्
त्यो मगजमा ठुलै संग्राम छ

गालोस् जिन्दगीले थाहा होस्
हेरौं ममा कति सुन फलाम छ

चाडपर्वमा मन त्यहिँ पुग्छ
बाआमा जहाँ त्यहिँ धाम छ

उनको नाम लेखेर दराजमा
नपठाई राखेको खाम छ

निंद बहुत दूर गाउँमा छ
त्यहाँ सम्म शेरको लाम छ