लाँकुरी रुट्स: अम्मल धुँवाको

अम्मल धुँवाको

Monday, May 31, 2010

यो कविता मैले करिब १ वर्ष अगाडि लेखेको थिएँ । आज World No Tobacco Day को अवसर पारेर फेरी बाँडेको छु । सुर्तीजन्य चिजको अम्मल बाट टाढै रहन सबैमा अनुरोध सहित ।

धुवाँ,
मेरो जिन्दगीको पहिलो धुवाँ,
बुद्धिजीवी देखिन्छ भन्ने,
धुवाँमा तानेँ,
त्यस पछिका धुवाँ-हरू,
यो तुवाँलो बाट,
निस्कन सक्दिन भन्ने,
धुवाँमा तानेँ ।

खाँदिन,
नशाको यात्रा हिँड्दिन,
पाइला मोडियो भनेर तानेँ,
साता - हप्ता - महिना गनेर तानेँ,
अम्मल छोडेका दिनमा तानेँ,
कसम तोडेका दिनमा तानेँ,
अनि फेरि ,
कसम तोडियो भनेर तानेँ ।

एकान्त पन लाई छल्न तानेँ,
साथीहरूको भिडमा मिल्न तानेँ,
कमजोर हुँदा तानेँ,
उन्माद छाउँदा तानेँ,
खुशीमा तानेँ,
पीरमा तानेँ,
पीर मुटु तिर,
धुवाँ फोक्सो, दिमाग तिर,
उन्‌लाई सम्झन तानेँ,
उन्‌लाई बिर्सन तानेँ।

केही लेख्न तानेँ,
केही देख्न तानेँ,
त्यो पहिलो धुवाँ उपरान्त का,
धुवाँ - हरु मैले,
धुवाँ बिना आँखामा छाउने,
तुवाँलो हटाउन तानेँ ।

आज,
मनमा धुवाँ छ,
दिमागमा धुवाँ छ,
विचारमा धुवाँको बिर्को लागेको छ,
लाग्छ - एक सर्को ताने पछि,
सब प्रष्ट देखिन्छ।

(वैधानिक प्रावधान : धुम्रपान स्वास्थ्यको लागी हानिकारक छ ।)

No comments:

Post a Comment

Your feedback ?