नेदरल्यान्ड यसै त विश्वमा Amsterdam जस्तो बन्धन रहित, निस्फिक्रि शहरको देश भनेर चिनिन्छ । अलि व्याख्या गर्नु पर्दा युरोप भरि अलिक खुला स्वभावका, प्याच्च बोल्ने र हठी स्वभावका तर अरू ठाउँको तुलनामा अलि कमै जातीय अपहेलना हुने ठाउँ भनेर चिनिन्छ । मान मर्यादाको क्रममा सबैले सबैलाई नाम काढेर बोलाउने, अप्ठ्यारा कुराहरू पनि हाँसी हाँसी भन्न सक्ने स्वभाव ले सुरुमा अफिसमा काम गर्दा आँफुले 'सर' भनेको बानी अनि मिटिङमा कुरा चपाएर बोल्ने जस्ता व्यवहारलाई टेढा आँखाले हेर्ने गर्छन् । कफी गफमा प्रायजसो विषयको संवेदनशीलता नहेरी ठट्यौली गर्ने बानी सुरु सुरु मा अपच नै हुने रहेछ । फेरी कतिपय कुरा मा भने आफ्नै नियम काइदा । जस्तो कि कसैले नयाँ सामान किन्यो भने मूल्य सोध्न नपाइने रे, रेष्टुराँमा खाना खान गयो भने केटा-केटी वा साथी सबैले छुट्टा-छुट्टै पैसा तिर्नु पर्ने, कसैको घरमा पहिला फोन गरेर समय नलिई नजानु रे , आदि आदि । तर गत महिनाको चुनावमा आएको मतदानको तथ्याङ्कले त्यो परिभाषालाई अलि सोच्नु पर्ने हो कि भन्ने भान हुन्छ किनकी विशेष गरी मुसलमान समुदायका विरुद्ध खरो भएर लागेका एक नेताले अत्यधिक सफलता हात पारे ।
आज नेदरल्यान्डको दक्षिणी भेगको Eindhoven भन्ने शहरमा उभिएर हेर्दा ती सबै बढ्दै गएका नकरात्मक कुरा निमिट्यान्न भएको आभास हुँदै थियो । यहाँका प्रमुख शहरहरूमा Hyundai Motor Company ले Hyundai Fan Park भनेर बडेमानका Panel हरुमा खेल देखाई रहेको छ। त्यो बाहेक शहरका अन्य खुला ठाउँमा पनि ठूला ठूला panel र Monitor मा खेलहरू र त्यसका वरि परी सुन्तले रङ्गका थुप्राहरू देख्न पाइन्छ ।
फिफाको स्पोन्सर डृीङ्क्स budweiser ले 'यो वर्षको फुटबललाई तपाईँले कसरी व्याख्या गर्नु हुन्छ ?' भनेर खुला प्रतियोगिता आयोजना गरेको थियो । सो प्रश्नमा जर्मनीका एक युवकले "म घाँस मुनी नगाडिए सम्म मलाई भेटन सकिने एउटा मात्र निश्चित स्थान छ: त्यही घाँस जसले विश्वलाई परिभाषित गर्दछ, जहाँ खुशीको लहर ल्याउने खेल खेलिन्छ । आउ सबै जना मिलेर यो उत्सव मनाउँ र यो पृथ्वीकै यस्तो सुन्दर खेल खेल्ने हाम्रा खेलाडीलाई हौसला दिऊँ । सबै मिलेर पृथ्वीकै शान्त तर भव्य उत्सव मनाउँ । " यी शब्द कोरे वापत उनले द. अफ्रिका गएर 'अर्जेन्टिना विरुद्ध कोरिया' को खेल हेरेर Man of The Match को उपाधि हस्तान्तरण गर्ने अवसर पाएका थिए ।
उरुग्वे विरुद्धको खेलमा गोलको सुरुवात नेदरल्यान्डले नै गरेको थियो। त्यो बेला सुन्तले रङ्गकै भुभुजेला ले कान ठिहिरिए, हल्ला भो, डच गीत बज्न थाले । माथि प्यानल, तल कन्सर्ट थियो, उद्घोषकका कुरा सुन्ने फुर्सद कसैलाई थिएन । गजब त कुन बेला भो भने जब उरुग्वेले पहिलो गोल को जवाब दियो अनि पुरा सडकमा सन्नाटा छायो तर केवल २ मिनेट को लागी। एकै छीनमा फेरी सबै जना आ-आफ्नै ध्याउन्न मा लागे । म अचम्म मान्दै थिएँ छेवैको मातेको मित्रले डचमा फतफत गर्न लाग्यो, त्यो हल्ला मा के बुझ्नु । मैले pardon भनेँ उसले अंग्रेजीमा त्यो गोल को जवाफ फेरी दिने कुरा हाँसी हाँसी भन्दै नाच्ने खेतीमा फर्क्यो । यती बेला सम्म आधा खेलको जनाउ बजी सकेको थियो । मैले पनि भेन्यू परिवर्तन गर्ने सोचेर अर्को ठाउँ तिर हिडेँ ।
साँच्चै बाटो भरी कसैको अनुहारमा पनि खेल बराबरीमा चलिरहेको र जे पनि हुन सक्ने स्थितिको अनुभूति देखिँदैनथ्यो । सबै जना कुनै पार्टीमा सहभागी हुन आएका आगन्तुक, निम्तालु जस्ता देखिन्थे - फेरी राष्ट्रिय रङले ढपक्कै छोपिएका पनि छन् । त्यो निश्चिन्तता र निस्फिक्रिपन को जवाफ उनीहरूका २२ राष्ट्रनायकले खेलको दोश्रो खण्डमा दिए । प्रभावशाली खेल खेलेर ८५ मिनेट सम्म ३-१ को अग्रतामा रमाउँदै उफ्रँदै थिए नेदरल्यान्डवासीहरू - धर्म, काम, ओहदा र देश-विदेश नभनी । तर अन्तिमका १० मिनेट भने दाँत किट्दै हेर्दै थिए उनै 'पार्टी एनिमल' हरु। उरुग्वेले १ गोल थपेर गोल अन्तरलाई ३-२ मा पुर्याइको थियो अनी थप ३ मिनेट भनेर खेल ९५ मिनेट सम्म तानिँदा बल नेदरल्यान्डकै पोष्ट वरि परी घुमिरह्यो Eindhoven वासीको टाउको वरीपरी कुईरीमण्डल बनेर ।
जब रेफ्रीले खेल समाप्तीको घोषणा गरे अनि त्यती बेला ३२ वर्ष पछी लगातार विजयी २७ खेल खेल्दै २०१० को विश्वकप को फाइनलमा नेदरल्यान्डले आफ्नो नाम गर्वका साथ दर्ता गरायो । यहाँ का "पार्टी एनिमल" चाहिँ आफ्नो खेती तिर लागे। विशेषतः summerमा राती ११ बजे सम्म घाम देख्न पाइन्छ तर आज अलिक अँध्यारो चाहिँ थियो, म कोठातिर लम्किँदै गर्दा कारबाट टाउको निकाल्दै भुभुजेला फुक्दै र हर्न बजाउँदै एक हुल मोरोक्कन केटाहरु bar street तिर हाँनिदै थिए ।
ति जर्मन युवक सायद विश्वभरकै युवकका प्रतिनिधी पात्र हुन् । खेल को नतिजा जे जस्तो भए पनि १ महिना भव्यताका साथ मनाउने, आफन्त, बच्चै देखिका साथी भाई सम्झने। रमाईलो गर्ने, आपसमा सौहार्दता कायम राख्ने पृथ्वीकै दसैँ हो ।
क्यामरा ले कैद गर्न भ्याएका केही दृश्य :
दामी छ यार
ReplyDeleteगजब रमाइलो अनुभूती पढ्न र हेर्न पाइयो , खुशी लाग्यो | भुभुजेलाको जय होस् | धन्यवाद है रबिन्द्रजीलाई !
ReplyDelete