लाँकुरी रुट्स: विश्वकपका केही पक्ष

विश्वकपका केही पक्ष

Wednesday, June 30, 2010

 १ महिना अगाडि सम्म नामै नसुनेको, चिताउँदै नचिताएको भुभुजेला अहिले कैयौँ ब्लग, समाचार र पत्रिकाको मुख्य विषय भएर छायो । दक्षिण अफ्रिकाका प्रमुख जाती 'जुलु' समुदायले आविष्कार गरेको यो भँवराले ले जस्तो एकनास 'भूँभुँ' गर्ने हुनाले यसको नाम भुभुजेला रहन गएको भनाई पढ्न पाईयो । यो विशेष गरी गाउँमा बैठक राख्नु पर्दा गाउँलेलाई  बोलाउने साङ्केतिक भाषाको रुपमा विकसित भएको रहेछ । विश्वकप जस्ता अन्तराष्ट्रिय खेलकुदको आयोजना गर्ने राष्ट्रले देशको अर्थतन्त्र सुदृढ गर्न, देशको पहिचान बनाउन ज्यादै महत्वपूर्ण हुने विश्वास राख्छन् र त्यो कुरा प्राय साँचो पनि हो । सन् २००२ मा कोरिया र जापान मिलेर फुटबलको विश्वकप आयोजना गरे । त्यस बेला देखि उनीहरू विश्वकपमा प्रभावशालि शक्तिका रुपमा चिनिन थाले । २ देश मिलेर आयोजना गरेको फिफाकै इतिहासमा त्यो पहिलो अवसर थियो। टिकट नबिकेका खबरहरूका माझ 'ट्यना माछा',' सुसी' र 'चकलेट' को छिटपुट प्रचार रह्यो । त्यो बाहेक धेरै हल्ला कसले जित्यो, हार्यो कति गोल भन्ने नै रह्यो । २००६ को विश्वकप जर्मनीमा हुँदा पनि त्यति धेरै बाह्य विषयहरूले खास महत्व पाएनन् । जर्मनीका रक्सी महोत्सव हरू र गाडी प्रदर्शनी ले त्यति स्थान पाए जस्तो भान भएको थिएन ।


२०१० को यो अफ्रिकी मुलुकमै भएको पहिलो वर्ल्ड कपको तय हुँदा को दिनमै उनीहरूले भुभुजेलालाई 'फुटबल बाजा' को रुपमा स्थापित गराउने निर्णय गरे । सुरु सुरुमा देख्दा - सुन्दा रमाइलो लाग्यो होला । १,२ जनाले सुरै छोडेर सास फुक्दा पनि राम्रै सुनियो होला। तर २० हजार भन्दा धेरै मान्छेले एकै पटक 'भ्वाँऽऽऽऽऽऽऽ' पार्दा खेल प्रसारक को बोली समेत सुन्न छोडेर पुरा विश्वले टेलिभिजनको आवाज बन्द गरेर फुटबल हेर्नु पर्ने बनायो । त्यो बाहेक खेलको बीच बीचमा रेफ्रीले सके जती कार्ड दिने, गोल नदिने, अफसाईड नदिने काण्डहरूले फेसबुकका भित्ता हरू रिस र नमज्जाका अभिव्यक्तिहरूले भरिपूर्ण भए । भुभुजेला ले त यहाँ सम्म गर्यो की YouTube ले आफ्ना भिडियो हरूमा Vuvuzela Effect भन्ने  नयाँ प्रविधि नै थपेको छ। त्यो थिचेपछि प्राय भिडियोमा "भ्वाऽऽऽऽऽऽ" सुन्न पाइन्छ । अर्चनाजीले "भुभुजेला नसुनी निद्रा नलाग्ने भो" भन्नुहुन्थ्यो - उपाय भेटिएको जानकारी गराउन चाहन्छु :P।
 
२००६ मा भन्दा यस पटक सायद इन्टरनेटको पहुँच सहज, सशक्त र प्रभावकारी भएर पनि होला, फिफाको यो अङ्क धेरै दर्शक माझ पुगेको भान हुन्छ मलाई । खेलहरूका प्रत्यक्ष प्रसारण वेबसाइट बाट हेर्न सकिने, लोडसेडिङ भए ल्यापटप चार्ज गर्यो, खेल आउने बेला इन्टरनेट जोड्यो, हेर्यो । फरक यत्ती हो  - लोडसेडिङ् गरेकोमा 'विद्धुत प्राधिकरण' लाई र द्रुत गतिको ईन्टरनेट सेवा नदिएकोमा 'नेपाल टेलिकम', 'Mercantile', 'वर्ल्ड लिंक' लाई फलाक्न पाइयो । घरी घरी देशका नेतालाई पनि मुछे भयो । नभए मोफसलमा हुर्कँदै गरेका खेल पत्रकार फेसबुक भरी जिन्दाबाद !

सबै देशमा आ-आफ्नै गुनासा होलान् । आज काममा ५८ वर्षका म सँगै काम गर्ने मेरा अग्रजलाई "हिजो नेदरल्यान्डले जित्यो नी बधाई छ, तपाईँले हेर्नु भयो ?" भन्दा नाक खुम्च्याएर "मैले विश्वकप नहेर्ने कसम खाएको छु" भने। म छक्क परेँ । अस्ति भर्खर क्यामरून सँगको खेल घरभरिका करिब १५,१६ जना डच युवा साथी हरु सँगै बसेर सुन्तला रङ्गको टिसर्ट लगाएर हेरियो, गोल हान्दा सिटि बजाइयो, उफ्रियो, रमाइयो - खाँदा अमिलो मुख बनाइयो। उनले आफ्नो विचार राखे - " द. अफ्रिका जस्तो देशले अरबौँ खर्च गरेर १० वटा फुटबलका मैदान बनायो । यो विश्वकप सकिए पछि ती खेल मैदान को कसरी उपयोग हुन्छ ?" मैले सोच्दै थिएँ - "हो है, जापान, कोरियाका रङ्गशालामा अहिले के भै रहेको होला ? हाम्रो एउटै दशरथ रङ्गशाला त झार उम्रेर स्याहार नपाएर त्यो हबिगत छ । फेरी जापानी खेलाडीहरू तिनै मैदानमा खेल्न पाएको ले पनि होला नी यती राम्रो प्रदर्शन गर्न सकेको ?" । त्यो बेला चाहिँ ती मानिस आफ्नो तर्क प्रमाणित गर्दै थिए । " ति रङ्गशालाको स्याहार गर्नु पर्यो, नयाँ खेलाडी बनाउनुलाई लगानी गर्नु पर्यो, उनैलाई भत्ता दिनु पर्यो । केवल ९० मिनेट बल यता देखि उता दगुराएको भरमा करोडौँ कमाउने अनि उनीहरूले नै थोरै कर तिर्नु पर्ने?" सायद उनी आफ्नो जीवन भरको परिश्रमको कुरा गर्दै थिए । उनी यस कम्पनीमा मात्र २६ वर्ष काम गरिसकेका छन् । यहाँ काम गरेर उनले काम वापत सरकारलाई कर तिरेका छन् । त्यो भन्दा बढी त उनले थुप्रै यस्ता मेशिनलाई चल्ने बनाएका छन् जसबाट करोडौँको उत्पादन भइसक्यो। (यो Mechatronics अन्तर्गतको Industry Automation भन्ने शाखा हो) । यो कम्पनीले, देशले ति मेशिनबाट कति मुनाफा गर्यो होला। उनको लागी देश चलाउने चाबी त्यो हो । उनको त्यो दृष्टिकोणबाट मनोरञ्जनमा समय र पैसा बरबाद गर्नु भूल हो। म भने अझै सम्म यो राष्ट्रिय पहिचान, आर्थिक कारोबार र यो मनोविज्ञानको भँगालोमा रुमल्लीइरहेको छु ।

यो आयोजनाले द. अफ्रिकाले ख्याती कमायो तर फिफामा ग्रुप राउन्ड बाट बाहिरिने पहिलो आयोजक राष्ट्र अनि भुभुजेला जस्तो चिर्स्याँउदो बाजा बज्ने देश भनेर पनि चिनिने छ। आशा छ यसबाट हुन सक्ने राष्ट्रिय हितका काम पुरा होउन् र द. अफ्रिकामा उन्नती होस् । 

यती भन्दा भन्दै स्पेनले पोर्चुगललाई १-० ले हराएर सेमीफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । भाग लिएका देशहरू मध्ये धेरैलाई एक मन नपर्ने पोर्चुगल पनि हो । उत्तर कोरियामा चरम सामन्ती कम्युनिष्ट शाषकहरुको माझबाट बाँचेर देशको नाम बोकेर आएका ती खेलाडीहरूमा धेरैको दयावान दृष्टि थियो र तिनैलाई पोर्चुगल ले निर्ममता पुर्वक ७-० को अपमानजनक अङ्कले हराएको एक जना साथीको खेद थियो फेसबुकमा। देशै देशको बहाना बनाएर तेरो देश यस्तो मेरो देश उस्तो भन्दै फलाक्ने, रिसाउने, लड्ने अर्को अजिब पक्ष हो वर्ल्ड कपको ।

उनै देशमा बस्ने वा कुनै न कुनै रुपले सम्बन्ध भएको भए त पक्ष लिएर चिनजानका मान्छे सँग मनु कुँड्याउनु ठिकै होला तर मित्र जितेन्द्र मल्लले "कहिँ नभा'को जात्रा द. अफ्रिकामा",  "अफ्रिकाको जात्रा, फेसबूकमा ।" "काम कुरो एकातिर, REMOTE बोकी फूटबलतिर ।" भनेझैँ र सर्जक दिनेश राज ज्ञवालीले भने झैँ " मेक्सिको : कर्म गर गोलको आशा नगर । अर्जेन्टिना : भाग्यमानीको रेफ्री कमारो । " हामी त दर्शक, खेल्ने उनीहरू , जितेर कप लैजाने उनीहरूकै देशमा, लड्ने भिड्ने तिमी हामी ?


जता जता जे जे होस् साँझको ९०‌‌‌‌‌ मिनेट रोचकताका साथ बिताइन्छ । कुनै दिन नेपाल ले विश्वकप खेलेछ भने एक हातमा लालीगुराँस, अर्को हातमा सनई बाजा, काँधमा धन्कुरे भिरेर दौरा सुरवाल, ढाका टोपीमा सजिएर तीनकुने झण्डा फहराउँदै प्रतिद्वन्द्वी समर्थकलाई हेरौँला । त्यही भुभुजेला जस्तो देखिने तर बीच बीचमा प्वाल पारेर विभिन्न प्रतिध्वनि निकाल्न मिल्ने, दुई जोडीको संगम गराउन होस् वा बुढी आमैको चौरासी गराउन प्रयोग हुने हाम्रो सनई लाई चाहिँ कसैले ' नर्कको बाजा'  भन्दै प्रतिबन्ध लगाउन बिन्ती गर्दैनन् भन्ने कुरामा म विश्वस्त छु । 

1 comment:

  1. अत्यन्तै सही कुरा गर्नु भयो है, रविन्द्र जी !

    यो भुँभुजेला आतंक ले नि गर्नु गर्या । उसमाथि रेफ्रिहरु को निर्णय ले नि, सबैलाई निराश तर उत्तेजित पनि बनाइदे'को छ । केही दिन अघि सम्म थाहा नै नभएको भुँभुँजेला को आवाज ले दिक्क लगाउँदै छ ।

    अनि सबैले कुनै न कुनै देशलाई त समर्थन गरेकै छन्, अनि खेल मा जित हार पनि हुने हुँदा, कुनै टिम ले जित्नु र हार्नुलाई सामान्य रुपमा लिएर खेल हेरेको राम्रो हो । म हेर्दिन जस्ले भन्छ, त्यसैलाई धेरै चासो हुनसक्छ कहिलेकाँहि ! :P

    जहाँ सम्म रंगशाला को कुरो छ, खै के हुन्छ भन्न सक्दिन । हुन त आयोजक राष्ट्र पहिले नै खेल बाट बाहिरिँदा, अलि नमज्जा नै हुँदोरहेछ । ती अफ्रिकीहरुमा पनि एक किसिम को दिक्कदारी पक्कै छाएको होला । विश्वकप को अन्त्य सँगै, रंगशाला को आयु नसकिए हुन्थ्यो ।

    ReplyDelete

Your feedback ?