लाँकुरी रुट्स: एउटा अधुरो काम (कथा)

एउटा अधुरो काम (कथा)

Wednesday, September 22, 2010

थुम्कोमा मानिसहरू हतार हतार गरेर खाल्डोमा फसेको गाडी धकेल्दै थिए। गाडी भित्र एक मानिस छट्पटाईरहेका थिए।
 
'बत्ती मुनि अँध्यारो’ भने झैँ, देशकै राजधानीसँग सीमा जोडिएको भए तापनि कुनै दुर्गम गाउँ पसे जस्तो भान हुन्थ्यो गाउँको त्यो पाटो हेर्दा । काठमाडौँलाई खाल्डो बनाउन मद्दत पुर्याएको मातातीर्थ गा.वि.स.ले डाँडा बाट टुलटुलती आधुनिकता हेरेर बस्थ्यो। जग्गा बेचबिखनमा लागेका दलाल हरू काठमाडौँ सकेर छेउ छाउ खोस्रँदा पहिलो प्राथमिकता सो गाउँलाई दिने गर्थे । ‘मूलै बाट निस्कने कलकल गर्ने खाने पानी, राजधानीको फोहोर, धुलो धुवाँ पनि नहुने तर सहरिया जीवन नै बिताउन पाइने, ... आदि आदि’ प्रचारबाजी सुनाउँथे। ‘बिजुली भए पनि बाटो अझै पक्की नभइ सकेको’ भन्दै दलालको दलदलबाट उम्कन खोज्ने नव सहरिया ग्राहकलाई ‘त्यही भेगका राष्ट्रिय नेता अहिले यातायात मन्त्रि भएकोले’ यसै साल पक्की बाटो आउने पक्का भएको भनि हौस्याउँथे । हुन पनि हरि प्रसाद त्यसै भेगका नामी नेता थिए।

राजनीतिमा लागेको लगभग तीन,चार वर्षमै उनी पार्टीको महत्वपूर्ण व्यक्तित्व भइसकेका थिए। लामो अवधि सम्म पार्टी बनाउन लागी परेका महत्वपूर्ण नेताहरू विचलन भएर पार्टी छोडेको, केहिले योगदान को उचित कदर नपाएर आत्महत्या समेत गरेको दृष्टान्त हेर्दा उनको यो उपलब्धि ज्यादै ठूलो हो भन्थे विश्लेषक हरू। त्यसो त राजनीतिमा लाग्नु भन्दा अगाडि उनले सामाजिक सेवक भनेर धेरै ख्याति कमाइसकेका थिए। त्यो गाउँमा बिजुली हुनु को श्रेय कसैलाई जान्थ्यो त केवल उनलाई । त्यसबाहेक समाजका साना-मझौला-वृहत् सबै खाले कार्यक्रममा मा उनको योगदान कुनै न कुनै रुपले भएकै हुन्थ्यो । यही छवि पनि उनको सफलताको धेरै भागि दार हुनु पर्छ। नेताहरूको दशकौँ देखि को व्यवहार बाट आजित भएका उनका घनिष्ठ हरू राजनीतिमा नजान सल्लाह दिन्थे भने अर्को तर्फ सबै प्रमुख पार्टीले उनलाई ‘आफ्नो’ बनाउन खोज्थे । उनी व्यक्तिगत रुपमा आफू कुनै पनि पार्टी को झण्डा मुनि नबस्ने भन्दै आफ्नो मिजासिलो स्वभावको परिचय दिन्थे मुसुक्क हाँसेर।


अस्तव्यस्त राजधानीमा खानेपानीको हाहाकार बढ्दो थियो। काठमाडौँ को महानगर व्यवस्थापन समितिले सो गाउँलाई मुख्य श्रोत को रुपमा नियाल्दै गा.वि.स सँग कुरा बढाउँदा हरि प्रसाद लाई सो काम को जिम्मा दिइयो। हरि प्रसाद ले गाउँमा अलकत्रे बाटो पुर्याउने लगायतका सर्त सहित पानी निर्यात गर्ने सहमति गराउँदा त्यो भेगका सबैले उनको वाह-वाह गरेका थिए। राजधानीको नजिक भएर नै होला ‘नजिकको तिर्थ हेलाँ’ भने झैँ त्यहाँ गाडीको सुविधा थिएन। शहर जान १ घण्टाको बाटो हिँडेर लामो दुरीका बसलाई राजमार्गमा रोकि जानु पर्थ्यो। त्यो बाहेक लोकल रुटमा चल्ने फाट्टफुट्ट मिनिबस पनि आउँथे। पानी बाँडे वापत आउने बाटो र सवारी साधनले राजमार्गमा गाडी रुँग्नु नपर्ने, सन्तानलाई राजधानीका स्कुल सम्म आवत जावत गर्न सजिलो हुने कुराले सबैको धुरीबाट राती राती हरिप्रसादको बखान उड्थ्यो।   
काम पानीको पाइप खन्न बाट सुरु भयो। '१ धुरी २ हातभन्दै गाउँलेले स्वयंसेवककै रुपमा काम गरेर पानी निकास गरि सक्दा भर्खर डोजरले बाटो जोत्दै थियो। बाटोको काम पुरा नहुँदै एक दिन एकाएक राजधानीको एक कार्यक्रममा सरकारमा रहेको पार्टीले एउटा पत्रकार सम्मेलन गरी उनलाई स्वागत गरेको घोषणा गर्यो। यो खबरले ठूलै हलचल मचाएको थियो। भेगिय समाज सेवी अब राष्ट्रिय नेता भइसकेका थिए। सायद उनका विगतका कुनै पनि कार्यलाई यति प्राथमिकताका साथ प्रचार गरिएको थिएन। हितैषी हरू ले यो खबर नपत्याएको प्रतिक्रिया दिन्थे, कुनै षडयन्त्र भएको दाबी गर्थे। गुह्य कुरा थाहा थियो त केवल हरि प्रसाद लाई मात्र थाहा थियो। पार्टीले उनलाई राजधानीमै आवासको व्यवस्था गरेपछि उनी उतै बस्न लागे। यता डोजरले आफ्नो काम सकेर फर्केको थियो र गाउँले रातो बाटो प्रयोग गर्न थालिसकेको थियो। केही समयमै ईट्टा भट्टी सुरु भएपछि हिलो बाटो हुँदै गाउँको मलिलो माटो पनि बाहिरिन थाल्यो। मान्छे बोक्ने मिनिबस, माइक्रो भन्दा बढी ट्रयाक्टर र ट्रक हिँडेर बाटो भरी खाडल देखिन थाले। तर गाउँले हरू को बाटो पिच भएर राजमार्गमा झैँ गाडि कुदाउने सपना सुस्केरामा बाँची नै रह्यो।  हरिप्रसाद शहर पसे पछि गाउँ अभिभावक गुमाएको टुहुरो जस्तो बनेको थियो। उनी कुनै विशेष काम पर्दा या कुनै कार्यक्रम हुँदा मात्र फर्कन्थे।

करिब २ वर्ष जति यसरी नै बिते। हरिप्रसाद बीच बीचमा परिवार भेट्न आउँदा  आफ्ना निकटका मान्छेहरूलाई पार्टीबाट बाटोको लागी पहल गर्ने आश्वासन दिन्थे। देशमा राजनीतिक माहोल तीव्र रुपले परिवर्तन हुँदै थियो र उनको पार्टीलाई सरकार चलाई राख्न मुस्किल थियो।  पार्टीले  स्वच्छ छवि भएका  व्यक्तिको सुचिबाट उनको नाम टिपेर यातायात मन्त्रालयको जिम्मेवारी दिएको थियो। राजनीतिक दाउपेच न हो। तर पनि 'बकुल्लोका बीचमा हाँस' जस्तै भएका हरिप्रसाद को लागि  कूटनीतिक चाँजो पाँजो मिलाएर काम गर्न सँधै टाउको दुखाइको विषय हुने गर्दथ्यो।  आफ्नो विगतको कर्मथलो मातातीर्थ केवल राजधानीको राजनीतिक खिचातानी बाट छुटकारा पाउने विश्राम गृहसरह भएको थियो। 

यस्तैमा विपक्षीको दवाब बढ्दै गए पछि केही दिन विश्राम गर्न गाउँ पुगेका हरि प्रसाद लाई गाउँ जाँदा गाउँलेले नै बेलुका समाज डाकी २-२ वर्ष सम्म बाटो पिच नगरेको, आफू हरू को विश्वास माथि कुठाराघात गरेको भन्दै घेरेका थिए। त्यसै घटनाले मर्माहत र  मानसिक  चिन्तनले ग्रस्त हरि प्रसादलाई आज बिहान पख हृदयघात भएछ। पजेरोमा राखेर राजधानीको अस्पताल पुर्याउन कार्यकर्ता र गाउँका हितैषी जोड जोड सँग गाडी ठेल्दै थिए।

4 comments:

  1. होला- होला जस्तै गरेर यथार्थको धरातल सम्मै पुगेर लेखिएको राम्रो सामाजिक कथा ।

    ReplyDelete
  2. बडो राम्ररी बुनिएको कथा रहेछ | म त सत्यकथा नै हो भन्ठान्दै थिएँ | यातायात मन्त्रिको नाम पक्का गरेपछि बल्ल कथा भन्ने थाहा लाग्यो

    ReplyDelete
  3. एउटा सुन्दर र सामयिक प्रतिनिधि कथा । लेखन शैली आकर्षक लाग्यो ।

    ReplyDelete
  4. Atti nai daami kathaa bastu ani prastuti....hats up to u

    ReplyDelete

Your feedback ?